काठमाडौं । मनसुनका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुदा यसपाली अझै पनि दशैको अग्रिम टिकट बुकिङ अझै खुला हुुन सकेको छैन ।
आगामी महिना असोजको १६ गते दशैंको टीका छ । दिन गणना गर्ने हो भनेपनि अब टीकाकै दिन आउन २७ दिन र घटस्थापनाको दिन आउन १७ दिन मात्रै बाँकी छ । तर, हालसम्म पनि दशैंमा यात्रुको चाप व्यवस्थापन गर्नेगरि दशैंको अग्रिम टिकट बुकिङको टुंगो लाग्न नसकेको हो ।

पछिल्लो समय मनसुन निष्क्रिय भइसकेपछि बढेको वर्षा र त्यसको प्रभावले विभिन्न गन्तव्यमा पुग्ने सडकहरु अवरुद्ध छन् । सडक विभागको तथ्यांकलाई आधार मान्दा पनि हालसम्म ३८ राजमार्गका ४ सय ३ स्थानमा सडक अवरुद्ध छ ।

ADVERTISEMENT

यसरी सडक अवरुद्ध हुनुमा सबैभन्दा ठूलो कारण वर्षाकै देखिन्छ । हाल अवरुद्ध भएकामध्ये १ सय ५९ स्थानबाट भने एकतर्फी सडक संचालन भएको छ ।
मौसमविदहरुका अनुसार भदौ र असोजको मध्यसम्मै मनसुनी प्रणाली सक्रिय भई अत्यधिकदेखि मध्यम वर्षा हुने देखिन्छ । यहि आधारमा दशैंमा पनि नेपालका धेरैजसो राष्ट्रिय राजमार्गहरु बाढी र पहिरोले अवरुद्ध हुने निश्चितजस्तै भएकाले यसपटक चाँडै दशैंको अग्रिम टिकट बुकिङको बारेमा नसोचिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् ।

‘अहिले धेरैजसो राजमार्गहरुका विभिन्न स्थानका सडकहरु अवरुद्ध छन्, यहि समस्या आगामी असोजमा पनि देखिने निश्चितजस्तै छ,’ उनले भने, ‘यसर्थ यात्रुलाई यात्रा अवधिभर समस्या नआउनेगरि सडकहरुको मर्मतसम्भारको पहल हामीले गरिरहेका छौं ।’
सरकारले पनि यात्रुहरुलाई घरसम्मै पुर्याउने र त्यहाँसम्म पुगेका सवारीसाधनहरु सुरक्षित तवरले पुनः फर्किने जिम्मेवारी बोध गरेको अवस्थामा दशैंको अग्रिम टिकट बुकिङ खुल्ने उनले बताए ।उनले यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, सडक विभागलगायतका निकायहरुसँग लगातार सडक सुधार र सुरक्षाको पहल गरिरहेको बताए ।

ADVERTISEMENT

यद्यपि अहिलेसम्म दशैंको अग्रिम टिकट बुकिङको प्रारम्भिक चरणका लागि पनि सरकारी पक्षले पहल नगरेको उनको भनाई छ ।

यसपटकको दशैं तिहारमा करिव १५ लाखले काठमाडौं छोड्ने अनुमान गरिएको छ । यहि बेलामा सुरु भएको अत्यधिक बर्षा असोज मध्यसम्मै लम्बिने मौसमविदहरुको अनुमानले काठमाडौं छोडेर दशैंको टिका थाप्न जाने नागरिकलाई भने सास्ती हुने निश्चितजस्तै भएको छ ।