काठमाडौं । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताएका छन् ।

सोमबार सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालले आयोजना गरेको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उनले दलभित्र लोकतन्त्रको व्यावहारिक अभ्यास नभएसम्म सिंगो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गरे ।

ADVERTISEMENT

‘दुई–चारजना नेताले इच्छाएको भरमा पार्टीभित्रको एउटालाई तान्ने र अर्कालाई नतान्ने पद्धति ठीक हैन । आन्तरिक स्वतन्त्र प्रतिस्पर्धाले पार्टीलाई कुनै नोक्सान भएको म देख्दिनँ”, उनले भने, ‘प्रतिस्पर्धाले पार्टी र पार्टीका संगठनहरु कमजोर हुँदैनन्, यसले पार्टीलाई अझ मजबुत बनाउँछ । पार्टीको र व्यक्तिहरुको सक्रियता बढाउँछ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अबको समय र सन्दर्भमा सर्वहारा वर्गको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अधिनायकत्व हुने व्यवहारतः अभ्यास टिकाउ नहुने तर्क राखे । उनले सन् १९९० मा सोभियत सङ्घको विघटनबारे चर्चा गर्दै अन्तरराष्ट्रिय अनुभवलाई ध्यानमा राखेर पार्टीभित्र लोकतान्त्रिकीकरणबारे सचेत गराए ।

ADVERTISEMENT

उपाध्यक्ष पाण्डेले दलभित्र लोकतान्त्रिकीकरणको विषय एमालेको आन्तरिक मामिला मात्र नभई मुलुककै लोकतान्त्रिक अभियानको महत्वपूर्ण मुद्दाका रुपमा बुझ्न आग्रहसमेत गरे ।
उनले पार्टीको आगामी अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता र पार्टीको नेतृत्व दोहोरिने विषयमा छलफल गर्ने बताए । ‘दश वर्षसम्म कुनै एक व्यक्तिलाई कुनै एक जिम्मेवारीमा दिएपछि त्यो उसको क्षमता छ भने त्यो दशै वर्षमा प्रकट हुन्छ । त्यसका लागि २० वर्ष कुर्नु पर्दैन वा १५ वर्ष कुर्नु पर्दैन,’ उनले भने ।