काठमाडौं । रास्वपा केन्द्रीस्य सदस्य अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता भएको छ । पाँडेविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको माग गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरिएको हो ।

सरकारी वकिलको कार्यालयले दर्ता गरेको साइबर कसुर मुद्दामा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान र थुनछेक बहस हुने भएको छ। बयान र बहस सकिएपछि पाँडेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ।

ADVERTISEMENT

पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन्। उनीविरूद्ध एक महिलाले आफूलाई ह्वाट्सएप र जिमेलमार्फत अपशब्द बोलेर गाली गरेको भन्दै गत साउन १२ गते साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। गत भदौ ५ गते उनीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि पाँडे आफै बुधबार साइबर ब्युरोमा कुरा बुझ्न बुझाउन गएकोमा त्यहीँबाटै प्रहरीले हिरासतमा राखेको हो ।

ADVERTISEMENT

पाँडेसँग बयान लिने कार्यसहितका सबै अनुसन्धान पूरा गरेर शुक्रबार बिहानै सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो। यस्तै कसुरमा एमाले केन्द्रीय सदस्य ऐन महरलाई भने प्रहरीले उन्मुक्ति दिएको थियो ।

जुन इमेलबाट महिलाको इमेलमा अश्लील मेसेज गएको छ त्यो आफ्नै भएको र आफूले नै पठाएको हुनसक्ने भन्दै पाँडेले समेत स्वीकार गरेका छन्। बयानमा जाहेरीकर्ता महिलाले पाँडेसँग परिचय भएपछि उनले ह्वाट्सएपमा अनावश्यक सन्देश पठाएकाले ब्लक गरेको र पछि इमेल गरेर अश्लील सन्देश पठाएर मानसिक यातना दिएको उल्लेख छ।