विराटनगर । गृहमन्त्री सुधन गुरुङ राति अबेरसम्म स्कुटर चढेर नेपाल–भारत सीमा क्षेत्रदेखि कोसी अस्पतालको खाली गराइएको जग्गासम्मको आकस्मिक निरीक्षणमा निस्किएका छन्।

शुक्रबार (मंसिर ११) दिउँसो विवाहको इन्गेजमेन्ट सकेर साँझ विराटनगर आइपुगेका गुरुङले राति नै सीमा क्षेत्र र अस्पतालको जग्गाको स्थलगत अवलोकन गरेका हुन्।

ADVERTISEMENT

शुक्रबार बेलुका ७ बजे विराटनगर विमानस्थलमा ओर्लिएका उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए। विमानस्थलबाट सिधै कोसी प्रदेश प्रहरी कार्यालय पुगेका गृहमन्त्रीले सुरक्षा अधिकारीहरूसँग राति अबेरसम्म छलफल गरेका थिए। सोही क्रममा उनले त्यहीँ खाना पनि खाएका थिए।

ADVERTISEMENT

त्यसपछि ‘रानी क्षेत्रतिर जाऊँ’ भन्दै आफैँ स्कुटर चढेर निस्किएका गृहमन्त्रीको पछिपछि प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनाल, सशस्त्र प्रहरी बलका डीआईजी, मोरङका प्रहरी उपरीक्षक (एसपी) लगायतको सुरक्षा टोली लागेको थियो।

उक्त टोलीले राति नै नेपाल–भारत सीमा क्षेत्र तथा जोगवनी नाकाको स्थलगत निरीक्षण गरेको थियो।

सीमा क्षेत्रको निरीक्षणपछि विराटनगर बजार फर्किएका गृहमन्त्री गुरुङले मध्यराति कोसी अस्पतालको अतिक्रमित जग्गाको समेत अवलोकन गरेका थिए। उक्त जग्गा दुई महिनाअघि मात्रै खाली गराइएको थियो।

गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारीको टोलीले अबेर राति गरेको आकस्मिक निरीक्षण अहिले विराटनगरमा चर्चाको विषय बनेको छ।

गुरुङ समुदायको संस्था ‘तमु छोंज धिं’को राष्ट्रिय परिषद् भेलामा सहभागी हुन विराटनगर आएका गृहमन्त्रीले सोही अवसरमा सीमा क्षेत्रदेखि अस्पतालको जग्गासम्मको निरीक्षण गरेका हुन्।

शनिबार (मंसिर १२) बिहान करिब ९ बजे उनी विराटनगरबाट सुनसरीको धरानतर्फ प्रस्थान गरेका छन्। धरानमा उनी कुन कार्यक्रम वा भेटघाटमा सहभागी हुने भन्ने खुलाइएको छैन। त्यसपछि उनी इटहरी जाने कार्यतालिका रहेको छ।

प्रहरीका अनुसार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे तमु छोंज धिं जिल्ला कार्यसमितिको सहयोगमा आयोजना हुने राष्ट्रिय परिषद् भेलाको उद्घाटन गरेपछि गृहमन्त्री पुनः विराटनगर फर्कनेछन्।