काठमाडौं । धादिङको रिङ्नेमा रहेको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको लगानी निर्णय, आर्थिक दायित्व र सञ्चालक समितिको कार्यशैलीलाई लिएर विवाद सार्वजनिक भएको छ ।
कम्पनीका शेयरधनी तथा निर्वाचित सञ्चालक रामप्रसाद सापकोटाले कम्पनीको सुशासन, पारदर्शिता र शेयरधनीको लगानी संरक्षणमाथि प्रश्न उठाउँदै सञ्चालक समितिका केही निर्णयप्रति असहमति जनाएका छन् ।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै सापकोटाले माथिल्लो आँखुखोला जलविद्युत आयोजना (४४ मेगावाट) मा पर्याप्त अध्ययन र छलफलबिना रु. २० करोड लगानी गर्ने निर्णय गरिएको दाबी गरेका छन् । उक्त आयोजनामा आफ्नो सहमतिबिना नै रु. ५ करोड भुक्तानी गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
कम्पनीको विद्यमान आर्थिक दायित्वलाई बेवास्ता गरेर नयाँ आयोजनामा थप लगानी गर्ने निर्णय गर्नु वित्तीय अनुशासन र शेयरधनीको हितविपरीत हुन सक्ने उनको भनाइ छ । सापकोटाका अनुसार कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजना तथा गणेश हिमाल लिमिटेडसँगको शेयर खरिदसम्बन्धी सम्झौताअनुसार करिब रु. ८० करोड भुक्तानी गर्न बाँकी छ ।
त्यस्तै, आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु. १० देखि १२ करोड क्षतिपूर्ति दिनुपर्ने र आयोजना निर्माणका क्रममा सिर्जना भएको रु. ४ देखि ५ करोडसम्मको दायित्वसमेत बाँकी रहेको उनले बताएका छन् । यस्तो अवस्थामा नयाँ आयोजनामा थप लगानी गर्नु उचित नहुने उनको तर्क छ ।
उनले कुनै पनि नयाँ आयोजनामा लगानी गर्नुअघि प्राविधिक, वित्तीय तथा कानुनी अध्ययन, जोखिम विश्लेषण र वित्तीय सम्भाव्यता मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् ।
सञ्चालक पदबाट हटाइएको निर्णयप्रति कानुनी प्रश्न
सापकोटाले २०८३ असोज ३० गते बसेको सञ्चालक समितिको बैठकबाट आफूलाई सञ्चालक पदबाट हटाउने निर्णय गरिएको विषयमा समेत आपत्ति जनाएका छन् । उक्त निर्णयविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।
उनका अनुसार २०८३ जेठ ३१ गते सम्पन्न कम्पनीको १७औँ तथा १८औँ वार्षिक साधारणसभाबाट उनी चार वर्षका लागि निर्विरोध सञ्चालक निर्वाचित भएका थिए । तर, आफूलाई बैठकमा सहभागी नगराई पदबाट हटाउने निर्णय गरिएको भन्दै उनले त्यसको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार सञ्चालक नियुक्ति, निर्वाचन र पदमुक्त गर्ने प्रक्रिया पूरा हुनुपर्ने उनको भनाइ छ । यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत उजुरी तथा असहमति प्रस्तुत गरिसकेको उनले जानकारी दिएका छन् ।
रु. २ अर्बको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिन माग
सापकोटाले कम्पनीले प्रस्ताव गरेको रु. २ अर्ब बराबरको हकप्रद शेयर जारी गर्ने निर्णयप्रति पनि प्रश्न उठाएका छन् । एउटा आयोजनाको वित्तीय व्यवस्थापन तथा काम अघि बढाउने प्रक्रिया पूरा नभई अर्को कम्पनीमा लगानी गर्ने उद्देश्यले हकप्रद शेयर जारी गर्न खोजिएको उनको आरोप छ ।
पर्याप्त जानकारी र पारदर्शिताबिना शेयर जारी गर्ने निर्णयले सर्वसाधारण तथा लगानीकर्तालाई भ्रममा पार्न सक्ने भन्दै उनले उक्त निर्णय फिर्ता लिन माग गरेका छन् । साथै, कम्पनीको वास्तविक वित्तीय अवस्था बुझेर मात्रै लगानीसम्बन्धी निर्णय गर्न शेयरधनीलाई आग्रह गरेका छन् ।
शेयरधनीको लगानी संरक्षण गर्न आग्रह
सापकोटाले कम्पनीका सबै निर्णय पारदर्शी, जवाफदेही र कानुनसम्मत हुनुपर्ने माग गरेका छन् । पर्याप्त प्राविधिक, वित्तीय तथा कानुनी अध्ययनबिना गरिएको भनिएको रु. ५ करोड भुक्तानी फिर्ता गर्नुपर्ने, आफूलाई बैठकमा सहभागी नगराई गरिएका निर्णय पुनरावलोकन तथा खारेज गर्नुपर्ने र रु. २ अर्बको हकप्रद शेयर जारी गर्ने निर्णय फिर्ता लिनुपर्ने उनको माग छ ।
उनले यो विवाद व्यक्तिगत पद वा स्वार्थसँग सम्बन्धित नभई कम्पनीको सुशासन, आर्थिक अनुशासन र हजारौँ शेयरधनीको लगानी सुरक्षासँग जोडिएको विषय भएको बताएका छन् ।
कम्पनीको सम्पत्ति तथा शेयरधनीको लगानी संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गर्दै उनले शेयरधनी, लगानीकर्ता, सरोकारवाला र स्थानीय सरकारलाई कम्पनीको आर्थिक अवस्था तथा निर्णय प्रक्रियाबारे चासो राख्न आग्रह गरेका छन् ।














