काठमाडौँ । चितवनमा आयोन वाई प्लस विद्युतीय गाडीमा भएको आगलागीको घटनामा ब्याट्री वा विद्युतीय प्रणालीमा कुनै खराबी नरहेको जीएसी इन्टरनेसनलले दाबी गरेको छ।
कम्पनीले घटनाबारे गरेको विस्तृत अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदनमा आगलागीको स्रोत गाडीको ब्याट्री वा विद्युतीय प्रणाली नभई बाह्य प्रज्वलन स्रोत रहेको निष्कर्ष निकालेको हो।
सन् २०२६ सेप्टेम्बर ११ मा चितवनमा भएको घटनालाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले तत्कालै वरिष्ठ प्राविधिक टोली परिचालन गरेर अनुसन्धान गरेको जनाएको छ।
अनुसन्धानका क्रममा गाडीको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा रहेको पाइएको कम्पनीको भनाइ छ। ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, गाडीको वायरिङ हार्नेस तथा बरामद गरिएका विद्युतीय उपकरणहरूको परीक्षण गर्दा सर्ट सर्किट भएको कुनै प्रमाण फेला नपरेको कम्पनीले जनाएको छ। तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको संकेतसमेत नभेटिएको प्रतिवेदनमा उल्लेख छ।
अनुसन्धानबाट गाडीका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा कुनै अन्तर्निहित उत्पादनगत त्रुटि वा खराबीका कारण आगलागी भएको सम्भावना पनि नदेखिएको कम्पनीको दाबी छ।
जीएसी इन्टरनेसनलले विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार आफ्ना सवारीसाधन उत्पादन हुँदै आएको जनाएको छ।
कम्पनीले सवारीसाधनको सुरक्षा, गुणस्तर र विश्वसनीयताका उच्चतम मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको र घटनासँग सम्बन्धित सरोकारवालासँग सहकार्य जारी राख्ने जनाएको छ।












