काठमाडौं । भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार साँझ काठमाडौं ल्याएको हो।

सीआईबीका प्रवक्ता अनुपशमशेर जबराका अनुसार अर्याललाई बिहीबार अपराह्न विराटनगर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो।

ADVERTISEMENT

मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरेको प्रकरणमा अर्याल पक्राउ परेका हुन्। सीआईबीले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको उल्लेख गरेको छ।

ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ, ‘आजै मिति २०८३/०८/१० गते मोरङ जिल्ला, विराटनगरस्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको।’

अर्याललाई पक्राउ गर्न सीआईबीले मंसिर २ गते जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो। पक्राउ पर्न सक्ने सूचना पाएपछि उनी दिल्ली पुगेको बताइएको थियो।

गृह मन्त्रालय स्रोतका अनुसार उनलाई दिल्लीबाटै पक्राउ गरिएको हो। त्यसपछि जहाजमार्फत भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुर्‍याइएको र त्यहाँबाट नेपालको पूर्वी नाका हुँदै विराटनगर ल्याइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा सीआईबीले यस प्रकरणमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।

यसै प्रकरणमा पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित तत्कालीन केही कर्मचारी प्रहरी हिरासतमा छन्।