काठमाडौँ । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

बिहीबार अदालतले सापकोटासँगै महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। काठमाडौँ जिल्ला अदालतका एक अधिकृतका अनुसार तीनै जनामाथि थप अनुसन्धान गर्न म्याद थप गरिएको हो।

ADVERTISEMENT

सापकोटासँगको सम्बन्ध र कारोबारमा कनेक्सन देखिएपछि श्रेष्ठ र भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

ADVERTISEMENT

प्रहरीले सापकोटामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ। श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको कनेक्सन देखिएपछि प्रहरीले सबैभन्दा पहिले सापकोटालाई पक्राउ गरेको थियो। त्यसपछि उनीसँगको सम्बन्ध र कारोबारबारे अनुसन्धान गर्ने क्रममा श्रेष्ठ र भट्ट पनि पक्राउ परेका हुन्।