काठमाडौं । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेशले सुरुवाती दुई दिनमै निराशाजनक प्रदर्शन गरेको छ। आफ्नै मैदानमा दर्शकको साथ पाए पनि कर्णालीले सहभागी चार विधामध्ये कुनैमा पनि प्रभावशाली नतिजा निकाल्न सकेन।
कर्णालीले पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलमा हार बेहोरेको छ भने पौडीमा पदक जित्न सकेन। पाँच विधामा प्रतिस्पर्धा भइरहँदा टेनिसमा भने कर्णाली सहभागी छैन।
फुटबलमा पुलिससँग २–० को हार
प्रतियोगिताको उद्घाटन खेलमै कर्णाली नेपाल पुलिस क्लबसँग २–० गोलले पराजित भयो। कर्णाली प्रादेशिक रंगशालामा भएको खेलमा पुलिसका धिरेन्द्र शाहले ३६औँ र सुजन मगरले ४६औँ मिनेटमा गोल गरे। दोस्रो हाफमा कर्णालीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन।
पुरुष फुटबलको दोस्रो दिन भने त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले हरायो। आर्मीका भरत खवासले २३औँ र लाकेन लिम्बुले ५२औँ मिनेटमा गोल गरे। ६४औँ मिनेटमा लुम्बिनीका विकास राईले आफ्नै पोस्टमा गोल गरेपछि आर्मीको जित निश्चित भयो।
कोशी र बागमती प्रदेशबीचको अर्को खेल २–२ गोलको बराबरीमा सकियो। दुई गोलले पछि परेको कोशीले अन्तिम १५ मिनेटमा दुई गोल फर्काउँदै खेलमा पुनरागमन गर्यो।
महिला क्रिकेटमा कोशीसँग ४९ रनले पराजित
महिला क्रिकेटमा कर्णालीले कोशी प्रदेशसँग ४९ रनको हार बेहोरेको छ। पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको मद्दतमा १२५ रन बनाएको थियो।
१२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमै समेटियो। कर्णालीका शिखा दवाडीले सर्वाधिक २० रन बनाइन्। कोशीकी लकिता राजवंशीले तीन विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलिन्। उनी प्लेयर अफ द म्याच घोषित भइन्।
बास्केटबलमा पनि फराकिलो हार
महिला बास्केटबलको फुल कोर्ट प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले कर्णालीलाई ५२–१९ अंकले पराजित गर्यो। पहिलो क्वार्टरमा ८–० ले पछि परेको पुलिसले त्यसपछिका तीन क्वार्टरमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो। पुलिसकी दिभा महर्जनले सर्वाधिक २० अंक जोडिन्।
यसैबीच, सुदूरपश्चिम प्रदेशले मधेशलाई ४७–३ ले हराउँदै महिला बास्केटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। थ्री अन थ्री बास्केटबलमा त्रिभुवन आर्मी र बागमती प्रदेश पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
पौडीमा बागमतीको वर्चस्व, कर्णाली पदकविहीन
नेपालगन्जमा सम्पन्न पौडी प्रतिस्पर्धामा बागमती प्रदेशले नौ स्वर्ण, चार रजत र छ कास्यसहित कुल १९ पदक जितेर शीर्ष स्थान हासिल गरेको छ।
नेपाल पुलिस क्लब तीन स्वर्ण, सात रजत र आठ कास्यसहित दोस्रो तथा त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, आठ रजत र आठ कास्यसहित तेस्रो स्थानमा रहे। एनआरएनएले नौ पदक जित्दा सुदूरपश्चिम र कोशी प्रदेशले पनि पदक तालिकामा उपस्थिति जनाएका छन्। कर्णाली भने पौडीमा पदकविहीन रह्यो।
तेस्रो दिन गण्डकीसँग भिड्दै कर्णाली
लगातारको हारपछि कर्णालीले बिहीबार पुरुष फुटबलमा गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ९ बजे सुरु हुनेछ। दिउँसो २ः३० बजे एपीएफ र मधेश प्रदेशबीच अर्को खेल हुनेछ।
सुरुवाती दुई दिनको नतिजाले घरेलु टोली कर्णालीमाथि दबाब बढाएको छ। प्रतियोगिताको सहआयोजकसमेत रहेको प्रदेशका लागि अब बाँकी खेलमा प्रदर्शन सुधार्नु र पदक तालिकामा उपस्थिति जनाउनु मुख्य चुनौती बनेको छ।












