काठमाडौं । मंसिर ११ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सारथी’ले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ ।
सोमबार सेन्सर पास भएसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर हेर्न पाउने भएका छन् । २ घण्टा २२ मिनेट ३१ सेकेन्ड लामो चलचित्रको मुख्य आकर्षणका रूपमा दुई दशकपछि उत्तम प्रधान र निरुता सिंहको पुनरागमनलाई हेरिएको छ ।
पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई कुमार गजुरेलले निर्देशन गरेका हुन् । कथा पनि उनैले लेखेका हुन् ।
धीरज इन्फिनिटी फिल्म्ससँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्माको अभिनय रहेको छ ।
यसै चलचित्रबाट गिरी विश्वकर्मा र गायत्री जोशीले नायक–नायिकाका रूपमा डेब्यु गर्दैछन् । नेपाली चलचित्र क्षेत्रका अनुभवी सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेका छन् । चलचित्रको सम्पादन पनि उनले नै गरेका हुन् ।
चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् भने बेक बहादुर कुमाई र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । सहनिर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिशान थापा छन् ।
चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, संकल भुजेलको छायांकन तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । लाइन प्रोड्युसर आमिर केसी रहेका छन् ।
आरआर फिल्म्सले वितरण गर्ने चलचित्र नेपालको दुर्गम पहाडी क्षेत्र, मौलिक संस्कृति र ग्रामीण जीवनको पृष्ठभूमिमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनालाई समेटिएको चलचित्रले दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ ।












