डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल उग्रतारा भगवती मन्दिरमा आज परम्परागत ‘दिउसेडी’ मेला लाग्दैछ । स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट आयोजना हुने गर्छ ।
राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार अमरगढी नगरपालिका–८ स्थित मन्दिरमा स्थानीय चार गाउँका बासिन्दाले परम्परागत पूजा गरेपछि मेला सुरु हुन्छ ।
समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले विशेष पूजा गरेपछि मेलाको सुरुआत हुने परम्परा छ ।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत हजारौँ भक्तजन आउने गर्छन् ।
उग्रतारा भगवती मन्दिरको स्थापना सम्बन्धमा स्थानीय किंवदन्ती प्रचलित छ । परापूर्वकालमा स्थानीय साकी जातिका एक किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको र त्यसलाई रोक्न त्यहीँ ल्याइएको खिचडी प्रयोग गरिएको जनविश्वास छ । त्यसपछि देवी प्रकट भएको विश्वासका आधारमा मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा र मेला लगाउने परम्परा सुरु भएको किंवदन्ती छ ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो मेला स्थानीय उत्पादनको बिक्री र प्रवर्द्धनका लागि पनि परिचित छ । मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।












