सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका–४ निवासी पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार बिहीबार अध्यक्ष शाहीले एम्बुलेन्स चालक सिंहमाथि कुटपिट गरेका थिए। चालक सिंह लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै अध्यक्षकहाँ रकम माग्न पुगेको बताइएको छ।
सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेको जानकारी प्रहरीले दिएको छ।
कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












