काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला रहने भएको छ । ग्राहकले रातिको समयमा समेत किनमेल गर्न सक्ने गरी शाखाको सेवा समय विस्तार गरिएको हो ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकको सुविधालाई ध्यानमा राख्दै टंगाल शाखा २४ घण्टा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

ADVERTISEMENT

यसअघि भक्तपुरको राधेराधे शाखाबाट भाटभटेनीले चौबिसै घण्टे सेवा सुरु गरेको थियो । टंगाल शाखा २४ घण्टा सञ्चालनमा आएसँगै ग्राहकले आफ्नो अनुकूल समयमा किनमेल गर्न पाउने भएका छन् ।

ADVERTISEMENT

व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट भाटभटेनी सुपरस्टोरको व्यवसाय सुरु गरेका थिए । हाल भाटभटेनीका देशभर २७ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । त्यसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो । ठूलो क्षति भए पनि कुनै कर्मचारीको रोजगारी नखोसिएको र पुनः लगानी गरेर अधिकांश स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

आन्दोलनका क्रममा टंगालस्थित भाटभटेनी स्टोर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । मर्मत तथा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि उक्त शाखा पुनः सञ्चालनमा आएको थियो । अहिले सोही शाखालाई २४ घण्टा सञ्चालनमा ल्याइएको हो ।