विराटनगर । विराटनगर क्षेत्रमा मंसिर १ गतेदेखि रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ पारित गरेसँगै व्यवसाय सञ्चालनको बाटो खुलेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले मापदण्ड पारित भइसकेको जानकारी दिएका छन् ।

ADVERTISEMENT

गृह मन्त्रालयको ‘पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ को अधीनमा रही तयार पारिएको मापदण्डअनुसार राति १० बजेपछि सञ्चालन हुने व्यवसायलाई रात्रिकालीन व्यवसाय मानिनेछ । राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले छुट्टै अनुमति लिनुपर्ने छैन । तर, राति १२ बजेसम्म खुल्न चाहने किराना, पान, मिठाई, चिया, आइसक्रिम पसल, रेस्टुरेन्ट तथा खाना–खाजा पसलले भने मापदण्ड पूरा गरी अनुमति लिनुपर्नेछ ।

ADVERTISEMENT

त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तथा गजल रेस्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

व्यवसाय सञ्चालनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस र आवश्यक चेकलिस्टसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिले स्थलगत निरीक्षण गरेपछि मात्र सञ्चालन अनुमति दिइने मापदण्डमा उल्लेख छ ।

राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने भए पनि मदिरा बिक्रीमा भने समयसीमा तोकिएको छ । मदिरा पसल बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खोल्न पाइनेछ । होटल तथा मनोरञ्जन स्थलमा दिउँसो १२ बजेअघि मदिरा बिक्री वा सेवन गराउन पाइने छैन । शुक्रबार राति १ बजेपछि र अन्य दिन राति १२ बजेपछि पनि मदिरा बिक्री तथा सेवन निषेध गरिएको छ ।

मापदण्डमा सुरक्षा र ध्वनि नियन्त्रणका लागि विभिन्न व्यवस्था अनिवार्य गरिएको छ । मनोरञ्जनात्मक व्यवसाय सञ्चालन हुने भवन साउन्ड प्रुफ हुनुपर्नेछ भने साउन्ड कन्ट्रोल सिस्टम पनि जडान गर्नुपर्नेछ । ध्वनि प्रदूषणका कारण छिमेकीलाई असर पुगेमा व्यवसायको अनुमति रद्द गरिनेछ ।

त्यस्तै, प्रवेश तथा निकासद्वार र सडक क्षेत्र देखिने गरी सीसीटीभी जडान गर्नुपर्नेछ । व्यवसाय परिसर र बाहिर १०० मिटरसम्म पर्याप्त प्रकाशको व्यवस्था, डिजिटल डिस्प्ले बोर्ड, अग्नि नियन्त्रण उपकरण, आपत्कालीन द्वार, पार्किङ र सुरक्षा गार्ड अनिवार्य गरिएको छ । मादक पदार्थ सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन व्यवसायीले न्यूनतम शुल्कमा यातायात (ड्रप) को व्यवस्था मिलाउनुपर्नेछ ।

डान्सबार, पब, डिस्को तथा दोहोरीमा १८ वर्षमुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । त्यस्ता व्यवसायमा सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न पनि उमेरसम्बन्धी व्यवस्था पालना गर्नुपर्नेछ । मसाज पार्लरको ढोकामा चुकुल वा लक लगाउन नपाइने व्यवस्था गरिएको छ ।

श्रमिकको हकमा नियुक्तिपत्र, बैंकिङ प्रणालीमार्फत तलब भुक्तानी, जोखिम बिमा तथा रातिको खाना र यातायातको व्यवस्था गर्नुपर्नेछ । महिला श्रमिकका लागि सुरक्षित चेन्जिङ रुम र स्तनपान कक्ष अनिवार्य गरिएको छ । कर्मचारीले कामको समयमा मदिरा सेवन गर्न, ग्राहकसँगै बसेर खानपिन गर्न तथा उत्तेजक पोशाकमा नाचगान गर्न नपाउने व्यवस्था पनि मापदण्डमा समेटिएको छ ।

राति १० बजेपछि सेवा लिन बाहिर निस्कने ग्राहकले अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्नेछ । मापदण्ड विराटनगरको केशलिया र सिंघिया खोला क्षेत्र, उत्तरमा स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्म लागू हुनेछ ।

मापदण्डको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिले गर्नेछ । आकस्मिक निरीक्षणका क्रममा मापदण्ड उल्लंघन गरेको पाइएमा रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरी प्रचलित कानुनअनुसार थप कारबाही गरिने प्रशासनले जनाएको छ ।