काठमाडौं । श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

शीर्ष क्रममा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका विभिन्न घरेलु तथा प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन् ।

ADVERTISEMENT

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ । उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन् । बलिङतर्फ उनले ५० खेलमा २६ विकेट लिएका छन् ।

ADVERTISEMENT

त्यस्तै, ६७ लिस्ट ए खेलमा उनले एक शतक र नौ अर्धशतकसहित १ हजार ६७८ रन बनाएका छन् भने ६३ विकेट लिएका छन् । ४९ प्रथम श्रेणी खेलमा उनको नाममा २ हजार २७५ रन र ११ विकेट छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङ बलियो हुने विश्वास व्यक्त गरे ।

‘थनुका दबारेसँग अनुभव छ । उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन् । उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ,’ खड्काले भने ।

टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । उनले नेपाल आएर टोलीका लागि योगदान दिने र राम्रो प्रदर्शनमार्फत उपाधि जिताउन सहयोग गर्ने लक्ष्य रहेको बताएका छन् ।