दैलेख । कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप बिहान करिब ८ बजे दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलका अनुसार जिपमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६, मेहेलमुडीका २७ वर्षीया बिरामी कैली सार्की र २७ वर्षीया जादुकला सार्कीसहित कुरुवा सवार थिए ।
दुर्घटनामा जिप चालक सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा, बिरामी कैली र जादुकलासहित १८ वर्षीय गंग सार्की, ४१ वर्षीय रने सार्की र सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खाडा घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।












