काठमाडौँ । तिहारको समयमा देशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली हुने भएको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य हिमाली क्षेत्रमा समेत आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी, बागमती तथा लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तीमध्ये केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।












