काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज आइतबार काग तिहार मनाइँदै छ।
कार्तिक कृष्ण त्रयोदशीका दिन सूर्योदय हुँदा त्रयोदशी तिथि परेकाले शास्त्रीय मान्यताअनुसार आज काग तिहार मनाउन लागिएको हो। यस दिन कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै पूजा गर्ने र खानेकुरा दिने परम्परा छ।
वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ। मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने यमराजसम्म पृथ्वीका खबर पुर्याउने जिम्मेवारी कागलाई दिइएको धार्मिक विश्वास छ।
कागलाई दहीभात, मिठाई तथा अन्य खानेकुरा दिएर पूजा गर्ने चलन छ। कागलाई नखुवाई आफूले भोजन गरे पाप लाग्ने धार्मिक मान्यता पनि रहेको छ। कागले कराउँदा पाहुना आउने वा कुनै सन्देश प्राप्त हुने संकेतका रूपमा लिने परम्परा नेपाली समाजमा अझै प्रचलित छ।
कागको पूजा गर्दा यमराजबाट आइपर्न सक्ने संकटबाट मुक्ति मिल्ने धार्मिक विश्वास गरिन्छ। यसका साथै काग तिहारले मानिस र पशुपक्षीबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा जीवजन्तुसँगको सहअस्तित्वको सन्देशसमेत दिन्छ।
यस दिन कागलाई अर्पण गरिने पूजामा विशेष मन्त्रसमेत उच्चारण गरिन्छ :
कागोऽसि यमदूतोऽसि वायसोऽसि महामते ।
इहं बलिं गृहाण त्वां त्रायस्व यमसङ्कटात् ।।
यसको भावार्थ कागलाई यमराजको दूतका रूपमा सम्बोधन गर्दै अर्पण गरिएको भोजन ग्रहण गर्न र यमराजका संकटबाट रक्षा गर्न प्रार्थना गर्नु हो।
धार्मिक मान्यताअनुसार विष्णुले राजा बलिको दानशीलताबाट प्रसन्न भएर उनलाई वर्षमा पाँच दिन पृथ्वीमा शासन गर्ने अधिकार दिएका थिए। सोही अवधिमा बलि राजाको पूजा गर्ने परम्परासमेत तिहारसँग जोडिएको छ।
काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरलगायत विभिन्न स्थानमा विशेष पूजा आराधना गरिन्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ।










