काठमाडौँ । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ।
२५औँ पटक आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या देखिएको भन्दै संघले उनको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरी माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा डा. केसी अनसन बसेको नौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस विषयमा संघको केन्द्रीय कार्यालयमा पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाजका प्रतिनिधि, अस्पताल निर्देशक, आवासीय चिकित्सक तथा अन्य चिकित्सकको उपस्थितिमा बैठक बसेर विस्तृत छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ।
संघले डा. केसीका माग सम्बोधन गरी अनसन अन्त्य गर्ने वातावरण बनाउन सरकारसँग पुनः जोडदार माग गरेको छ। माग ४८ घण्टाभित्र सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने संघले चेतावनी दिएको छ।
आन्दोलनका कारण सर्वसाधारण नागरिकको स्वास्थ्य सेवामा पर्न सक्ने असरको पूर्ण जिम्मेवार सरकार स्वयं हुने पनि संघले जनाएको छ। डा. केसीको जीवन रक्षाका लागि सरकारले गम्भीरतापूर्वक पहल गर्नुपर्ने संघको माग छ।










