काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका श्रम अधिकार सुनिश्चित गर्न छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।महासंघको शुक्रबार अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारलाई आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले आन्दोलनमा जाने निर्णय गरेको हो।
बैठकले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। उक्त घटनालाई महासंघले समग्र पत्रकारिता क्षेत्रमाथिको प्रहारका रूपमा लिएको छ।
त्यस्तै, सरोकारवालासँग छलफल नगरी एकपक्षीय रूपमा ल्याइएको प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पनि आग्रह गर्ने महासंघले जनाएको छ।
गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गर्ने, पारिश्रमिक र चाडपर्व खर्च नदिने कार्यलाई महासंघले श्रम अधिकारको गम्भीर उल्लङ्घन भनेको छ।
लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती गर्ने विषयमा पनि महासंघले आपत्ति जनाएको छ। प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार रकम उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड) लाई सक्रिय बनाउने जनाएको छ। आन्दोलनका क्रममा सांसदहरूसँग बहस तथा पैरवी गरी संसद्मा विषय उठाउने वातावरण बनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ।










