धरान (सुनसरी) । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिकालाई सफा, स्वच्छ र वातावरणमैत्री बनाउने अभियानमा ऐक्यबद्धता जनाउँदै सार्वजनिक यातायातका साधनहरूमा डस्टबिन वितरण गरेको छ।
बैंकको शाखा कार्यालय धरानमार्फत उपमहानगरपालिकाको वडा नं. १२ को क्षेत्रभित्र सञ्चालित टेम्पो तथा सिटी सफारी चालकहरूलाई फोहोर व्यवस्थापनका लागि २०० थान डस्टबिन हस्तान्तरण गरिएको हो।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिन कुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका वडा नं. १२ का कार्यवाहक अध्यक्ष आयन्द्र विक्रम बेघाको उपस्थितिमा चालकहरूलाई ती डस्टबिन हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख खिमलाल भुसालले स्वच्छ वातावरण निर्माण गर्नु समाजका हरेक निकाय र नागरिकको साझा दायित्व भएको बताए। “सार्वजनिक यातायातमा डस्टबिनको उचित व्यवस्थापन गर्दा फोहोर सडकमै फाल्ने बानीमा सुधार आउँछ,” भुसालले भने, “यसले नगरको फोहोर व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रा गर्ने सर्वसाधारणमा समेत सरसफाइप्रतिको सकारात्मक सन्देश प्रवाह हुन्छ।”
यस्तै, यातायात व्यवसायी संघका अध्यक्ष मिन कुमार श्रेष्ठले बैंकको यो प्रयासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। टेम्पो तथा सफारीमा डस्टबिन राखेपछि यात्रुहरूलाई जथाभावी फोहोर फ्याँक्न निरुत्साहित गर्ने र धरानको स्वच्छता तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास श्रेष्ठले व्यक्त गरे।
आफ्नो व्यावसायिक गतिविधि सँगसँगै सामाजिक दायित्वलाई आत्मसात् गर्दै आएको कामना सेवा विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र समुदायको हितसँग सम्बन्धित विविध सामाजिक कार्यहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि स्थानीय सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा वातावरणीय कार्यक्रमहरूलाई निरन्तरता दिइने बैंकले जनाएको छ।










