काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, जलवायु परिवर्तन, ब्रिटिश गोर्खा तथा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विषयमा छलफल भएको हो।
भेटका क्रममा उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सन् १८१६ देखि कायम कूटनीतिक सम्बन्ध परम्परागत मित्रता, आपसी सम्मान र सहयोगमा आधारित रहेको बताए। उनले बेलायत नेपालको प्रमुख विकास साझेदारमध्ये एक रहेको उल्लेख गर्दै नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे।
यादवले ब्रिटिश गोर्खा सम्बन्धलाई दुई देशबीचको मित्रताको विशिष्ट र चिरस्थायी आयामका रूपमा व्याख्या गरे। साथै, बेलायतमा अध्ययन, रोजगारी तथा विभिन्न पेसामा संलग्न नेपाली र नेपाल भ्रमण गर्ने बेलायती पर्यटकका कारण दुई देशबीच जनस्तरको सम्बन्ध थप बलियो हुँदै गएको बताए।
जलवायु परिवर्तन, सामाजिक तथा आर्थिक विकास र साझा चासोका क्षेत्रमा बेलायतसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको पनि उनले बताए।
भेटमा बेलायती राजदूत फेनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बेलायत सहयोग गर्न इच्छुक रहेको जानकारी दिए। यस विषयमा बेलायती राजा चार्ल्स तृतीयको समेत विशेष चासो रहेको उनले उल्लेख गरे।
त्यस्तै, आगामी साता टर्कीको अन्ताल्यामा आयोजना हुने कोप–३१ सम्मेलनमा नेपालले अघि सारेको ‘माउन्टेन टु सी’ जलवायु एजेन्डालाई बेलायतले समर्थन गर्ने राजदूत फेनले बताए।
भेटका क्रममा उपराष्ट्रपति यादवले नोभेम्बर १४ मा मनाइने बेलायती राजा चार्ल्स तृतीयको शुभ जन्मोत्सवका अवसरमा राजा चार्ल्स र रानी क्यामिलाको सुस्वास्थ्य तथा बेलायती जनताको सुख, शान्ति र समृद्धिको कामनासमेत गरेका थिए।










