लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा सहभागी हुन लन्डन पुगेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार बिहान बेलायत पुगेका हुन्।

मन्त्री पौडेललाई हिथ्रो विमानस्थलमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्त, दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह तथा पर्यटन बोर्ड र दूतावासका अन्य कर्मचारी सहभागी थिए।

ADVERTISEMENT

नोभेम्बर ३ देखि ५ सम्म एक्सेल लन्डनमा आयोजना हुने डब्लुटिएम पर्यटन क्षेत्रको विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय व्यापार मेला हो। सन् १९८० देखि सुरु भएको यो मेला आइटिबी बर्लिनपछि पर्यटन व्यवसायीहरूको दोस्रो ठूलो विश्व मेला मानिन्छ।

ADVERTISEMENT

कार्यवाहक राजदूत दुवाडीका अनुसार नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ नेपाली कम्पनीले मेलामा सहभागिता जनाउँदैछन्। होटल सोल्टी भने छुट्टै रूपमा मेलामा सहभागी भएको छ।

मेलाका क्रममा मन्त्री पौडेलले विभिन्न देशका पर्यटनमन्त्रीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। नेपालको पर्यटन सम्भावना, दिगो पर्यटन विकास र अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनलाई मेलामा प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

मेलामा हाल बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा पनि सहभागी हुने कार्यक्रम छ।

सन् २०२५ मा आयोजित डब्लुटिएममा १८० देशका करिब ४५ हजार आगन्तुक र झन्डै ५ हजार प्रदर्शक सहभागी भएका थिए। यस वर्षको सहभागिताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा पर्यटन व्यवसायमा नयाँ साझेदारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, मन्त्री पौडेलको सम्मानमा नेपाली दूतावासले बुधबार विशेष स्वागत समारोह (रिसेप्सन) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलसमेत सहभागी हुनेछ। मन्त्री पौडेल नोभेम्बर ६ मा नेपाल फर्कने कार्यक्रम छ।