काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।
पार्टीले उम्मेदवार छनोट तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री तथा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन र समन्वयका लागि समिति सदस्यहरूको संयोजकत्वमा विभिन्न सात उपसमिति गठन गरिएको छ।
गठित उपसमितिअन्तर्गत क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक र गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू तोकिएका छन्।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।
उक्त प्रक्रियामार्फत स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई व्यवस्थित र समन्वयात्मक बनाउने पार्टीको तयारी छ।









