काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

ADVERTISEMENT

कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

ADVERTISEMENT

त्यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश बदली रहनेछ। अन्य भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। वर्षा, हिमपात र चट्याङको सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिन्छ।