पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर छ। अन्य पाँच जना घाइतेको अवस्था सामान्य रहेको छ। घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बल्घाबाट कटौजेतर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको अटोमा चालकसहित आठ जना सवार थिए। अटो अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









