काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताएका छन्।
स्याङ्जामा सोमबार आयोजित कार्यक्रममा उनले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने बताए।
थापाका अनुसार उम्मेदवारको प्रारम्भिक सूची तयार गर्न डिजिटल मतदानको व्यवस्था गरिनेछ। त्यसपछि पार्टीका विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवार छनोट गरिने उनले बताए।
‘निर्वाचनका बेला दुई दिनअघि, पाँच दिनअघि वा दुई घण्टाअघि टिकट लिने र बाँड्ने काम यसपटक हुँदैन,’ थापाले भने, ‘उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौँ।’
सभापति थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीले मतभन्दा पहिले जनताको विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
‘हामीले गुमाएको मत होइन, विश्वास हो। विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ उनले भने।
थापाले निर्वाचनअघि मत जोगाउनेभन्दा जनताको विश्वास जित्ने कामलाई प्राथमिकता दिनुपर्ने बताए। त्यसका लागि पार्टीका सदस्यले संगठनभित्रको भूमिका सुधार्नुका साथै पार्टीप्रतिको सार्वजनिक धारणा सकारात्मक बनाउनुपर्ने उनको भनाइ थियो।
उनले मंसिर महिनालाई पार्टीको जागरण अभियानका रूपमा अघि बढाउने योजना पनि सुनाए। केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट कार्यक्रम तय गरी कार्यकर्तामाझ पुग्ने र संगठनलाई थप सुदृढ बनाउने उनले बताए।
कांग्रेसको योजनाअनुसार मंसिरमा संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापनामा केन्द्रित हुने तथा पुस–माघमा स्थानीय निर्वाचनलक्षित गतिविधि सञ्चालन गरिनेछ।









