काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिंकले ‘एक्सट्रीम एन्थम’ सार्वजनिक गरेको छ। क्रिकेट खेलाडी र समर्थकको उत्साहलाई संगीतमार्फत अभिव्यक्त गर्ने उद्देश्यले कम्पनीले एन्थम ल्याएको हो।
कम्पनीका अनुसार क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा, खेलाडीको जितप्रतिको प्रतिबद्धता र समर्थकको उत्साहलाई समेटेर एन्थम तयार गरिएको छ। विशेषगरी युवा पुस्तामा बढ्दो क्रिकेट आकर्षणलाई ध्यानमा राख्दै संगीतमार्फत खेलाडी र दर्शकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरिएको कम्पनीले जनाएको छ।
एनपीएलको तेस्रो संस्करणका लागि एक्सट्रीम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारीसमेत गरेको छ। कम्पनीले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन सम्झौता गरिएको छ।
सार्वजनिक एन्थममा युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको छ। यसको संगीत सिर्जना तथा संयोजन ब्लुस (सुरज शाही) ले गरेका हुन् भने निर्माण एनएफटीपी टिमले गरेको हो।
कम्पनीले मैदानमा प्रत्येक बलसँगै बढ्ने उत्सुकता, चौका-छक्कामा दर्शकले व्यक्त गर्ने खुसी र टोलीको जितसँग जोडिएको भावनालाई एन्थममार्फत प्रस्तुत गरिएको जनाएको छ। क्रिकेटलाई खेलमा मात्र सीमित नराखी समर्थकको सहभागिता र सामूहिक उत्सवसँग जोड्ने उद्देश्यले सांगीतिक प्रस्तुति तयार गरिएको कम्पनीको भनाइ छ।
एनपीएलमा विभिन्न टोलीसँगको प्रायोजन साझेदारीसँगै एन्थम सार्वजनिक गरेर कम्पनीले खेलकुद प्रवर्द्धन र व्यावसायिक ब्रान्डिङलाई एकसाथ अघि बढाएको छ।
‘एक्सट्रीम एन्थम’ एक्सट्रीम इनर्जी ड्रिंकको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिने कम्पनीले जनाएको छ









