काठमाडौं । कीर्तिपुरको चोभारडाँडामा रहेको ऐतिहासिक आनन्दादी लोकेश्वर अर्थात् आदिनाथ मन्दिरमा आजदेखि एक महिने मेला सुरु भएको छ।
असोज शुक्ल (कोजाग्रत) पूर्णिमादेखि सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ। मेलामा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन सहभागी हुने गर्छन्। मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा पुगेर भजनकीर्तन तथा पूजाआजा गर्ने परम्परा छ।
मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप प्रतिबिम्बित मूर्ति रहेकाले यसलाई आदिनाथ तथा अर्धनारीश्वरका रूपमा समेत चिनिन्छ। हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले साझा आस्थाको केन्द्रका रूपमा यस मन्दिरमा पूजा गर्ने गर्छन्।
हिन्दू धर्मावलम्बीले यसलाई शिवशक्तिका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वर अर्थात् करुणाका प्रतीकका रूपमा श्रद्धा प्रकट गर्छन्।
लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको मानिने यस मन्दिरको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व छ। हरेक वर्ष लाग्ने मेलाले धार्मिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ।










