काठमाडौं । नेपाली राजदूतावास, दोहाले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण औपचारिक माध्यमबाट नेपाल पठाउन प्रोत्साहित गर्ने तथा हुन्डी नियन्त्रण र वित्तीय समावेशीकरणका विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको नेतृत्वमा कतार पुगेको प्रतिनिधिमण्डलको सहभागितामा आयोजित कार्यक्रममा सुरक्षित र सहज रूपमा विप्रेषण पठाउने उपायबारे छलफल गरिएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले विप्रेषण, हुन्डी र वित्तीय समावेशीकरणसम्बन्धी प्रस्तुति दिएका थिए । उनले नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान तथा रेमिट्यान्सलाई औपचारिक वित्तीय प्रणालीमा आबद्ध गर्न सरकारले लिएका नीतिगत व्यवस्थाबारे जानकारी गराए ।

खुला छलफलमा सहभागीहरूले हुन्डी नियन्त्रण, विप्रेषण पठाउँदा लाग्ने शुल्क घटाउने र प्रक्रिया सरल बनाउने विषयमा सुझाव दिएका थिए । उनीहरूले औपचारिक माध्यमबाट रकम पठाउन सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

डेपुटी गभर्नर रावलले छलफलमा उठेका विषय नीति निर्माणका लागि महत्वपूर्ण पृष्ठपोषण हुने बताए । नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले सहभागीका जिज्ञासा सम्बोधन गरेका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाली राजदूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले नेपालीलाई सुरक्षित तथा औपचारिक माध्यमबाट मात्रै विप्रेषण पठाउन आग्रह गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार, नेपाल व्यवसायी संघ कतार, कतारस्थित नेपाली बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र दूतावासका कर्मचारी सहभागी थिए ।