काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा धेरैपछि प्रतिनिधिसभामा बोलेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले दुई छिमेकी देशबीच भएको सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।
थापाले सरकार राम्ररी नचलेको भन्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरे । उनले अदालतका ठगी अभियुक्तको अघिपछि देश घुमेको भन्दै आक्रोश व्यक्त गरे ।
‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ, सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने ।
महामन्त्री थापाले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ ।
थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरे । कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गए पनि सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरे।
‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ। नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए। आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वाभाविक होइन,’ उनले भने ।












