बेनी, कात्तिक ५। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीपहिरो र नदी कटानबाट क्षतिग्रस्त म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै पुनर्निर्माण तथा पूर्वाधार मर्मतलाई प्राथमिकता दिने बताउनुभएको छ।

मन्त्री लम्सालले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकको फापरखेत पहिरो, बेनी खानेपानी आयोजनामा पुगेको क्षति तथा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेबजार क्षेत्रको निरीक्षण गर्नुभएको हो।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य सागर लामिछाने र सोम शर्मासहित स्थानीय जनप्रतिनिधिको सहभागितामा गरिएको अनुगमनका क्रममा उहाँले क्षतिग्रस्त पूर्वाधारको अवस्था, सडक सञ्चालनमा देखिएका समस्या, खानेपानी आपूर्ति र विपद् प्रभावित नागरिकको पुनःस्थापनाबारे छलफल गर्नुभयो।

ADVERTISEMENT

गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले कोरला नाकासँग जोडिने महत्त्वपूर्ण सडकको मर्मत तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।

सडकमा पुगेको क्षति, पहिरोका कारण उत्पन्न जोखिम तथा सडकलाई सुरक्षित र सहज रूपमा सञ्चालन गर्न भइरहेका कामबारे बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले मन्त्रीलाई जानकारी गराउनुभएको थियो।

यसैगरी, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको पुनर्निर्माण र नियमित आपूर्तिका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन आग्रह गर्नुभयो। उहाँले खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पोखरामार्फत क्षतिको विवरणसहित बजेट माग गरिएको जानकारी दिनुभयो।

जवाफमा मन्त्री लम्सालले टेन्डर प्रक्रियामार्फत काम तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो।

मन्त्री लम्सालले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेबजार क्षेत्रको समेत निरीक्षण गर्नुभयो। गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले फर्से क्षेत्रका ६५ घर बगाएको थियो।

बाढीबाट प्रभावित स्थानीय बासिन्दा तथा जनप्रतिनिधिले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित परिवारको उचित पुनःस्थापना र कालीगण्डकी नदीमाथि फर्से–छिपछिपे जोड्ने मोटरेबल पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका थिए।

जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा स्थानीयको आवागमन सहज बनाउन आवश्यक योजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीसमक्ष आग्रह गर्नुभयो।

कालीगण्डकी नदीको बाढीले झोलुङ्गे पुल बगाएपछि बागलुङको ढोडेनी र फर्से क्षेत्रबीचको आवागमन प्रभावित भएको उहाँले जानकारी गराउनुभयो। मोटरेबल पुल निर्माण भएमा जलजला–८ को फर्से, बागलुङ नगरपालिका–४ को छिपछिपे तथा आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने स्थानीयको अपेक्षा छ।

मन्त्री लम्सालले म्याग्दीको पश्चिमी क्षेत्रलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत पहिरोको पनि अनुगमन गर्नुभयो।

पहिरोका कारण यस सडकखण्डमा पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ। मन्त्री लम्सालले चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै चाँडै ठेक्का प्रक्रियामार्फत काम सुरु गरिने बताउनुभयो।

बाढीपहिरोबाट क्षतिग्रस्त सडक, खानेपानी आयोजना र बस्तीको पुनर्निर्माणसँगै जोखिम न्यूनीकरणका कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता अनुगमनका क्रममा औँल्याइएको छ।