काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। तर, वर्षाको अवधि र मात्रा निश्चित भइनसकेकाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा त्रसित नहुन महाशाखाले सबैलाई आग्रह गरेको छ।
महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा एक सातासम्म लगातार वर्षा हुने भन्दै फैलाइएका खबरप्रति ध्यानाकर्षण गराउँदै तत्काल आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
“आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ। तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने निश्चित छैन,” उनले भने।
सामाजिक सञ्जालमा एक सातासम्म वर्षा हुने खबर फैलिँदा विशेषगरी किसानहरू चिन्तित देखिएको उनले बताए। मौसम प्रणाली परिवर्तनशील हुने भएकाले अनुमानका आधारमा फैलाइएका सूचनाको पछि नलाग्न उनले आग्रह गरेका छन्।
मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान तुलनात्मक रूपमा बढी विश्वसनीय हुने भए पनि एक सातासम्मको पूर्वानुमानमा अनिश्चितता बढी हुन्छ। त्यसैले आगामी दिनमा मौसम प्रणालीको अवस्थाबारे थप विश्लेषण गरी वर्षासम्बन्धी जानकारी सार्वजनिक गरिने उनले बताए।
उनले मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचना मात्रै विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
मौसममा हुने परिवर्तनबारे अद्यावधिक जानकारी लिँदै कृषि कार्य, यात्रा तथा अन्य गतिविधिको योजना बनाउन र अपुष्ट सूचनाका आधारमा अनावश्यक त्रास नफैलाउन महाशाखाले आग्रह गरेको छ।










