काठमाडौं । साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत घटनाको पुष्टि गर्दै नेपाली नागरिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो।

ADVERTISEMENT

मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। त्यसपछि खसेका भग्नावशेष लागेर नेपाली कामदारको मृत्यु भएको जनाइएको छ।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयले सर्वसाधारण नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका आक्रमणको नेपालले स्पष्ट रूपमा निन्दा गर्ने धारणा पनि दोहोर्‍याएको छ। साथै, अन्तर्राष्ट्रिय विवादहरूको समाधान संवाद, वार्ता र कूटनीतिक माध्यमबाट शान्तिपूर्ण रूपमा खोज्न सम्बन्धित पक्षहरूलाई आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरेबियाको पूर्वी प्रान्तमा रहेको उक्त तेल क्षेत्रमा भएको घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपाली नागरिकको विस्तृत परिचय भने सार्वजनिक गरिएको छैन।