काठमाडौं । विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै निजी विद्यालयका प्रिन्सिपलहरूले चरणबद्ध आन्दोलनको सुरु गरेका छन् ।
आन्दोलनको पहिलो दिन प्रिन्सिपलहरूले बिहीबार बिहान ११ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु गर्ने भएका छन् । उनीहरूले नयाँ बानेश्वर पुगी पुनः माइतीघर मण्डलामा फर्केर कोणसभा पनि गर्ने भएका छन्।
विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरुले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेका थिए । नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुनः माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ।
प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।
तीन दिन लगातार आन्दोलन गरेपछि चौथो दिनदेखि निर्णायक आन्दोलन गर्ने चेतावनी प्याब्सन र एनप्याब्सनले दिइसकेका छन् । निजी विद्यालय र नेपाल शिक्षक महासंघको दबाबका कारण विद्यालय शिक्षा विधेयक तत्काल पास गर्ने गरी घटनाक्रम अघि बढेको छ ।
विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गर्ने कार्यसुचीअनुसार संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बसिरहेको छ । बैठकमा सदस्यहरुले राय सुझाव दिने क्रम जारी छ ।






