काठमाडौं । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा विधिपूर्वक भित्र्याइएको छ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वमा शुभसाइतको प्रतीकका रूपमा फूलपाती घरघरमा भित्र्याउने धार्मिक तथा सांस्कृतिक परम्परा छ ।
गोरखा दरबारमा शनिबार बिहान पूजाअर्चना गरी तयार पारिएको फूलपातीसहितको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको थियो । मध्याह्न हनुमानढोका पुगेको डोलीलाई बाजागाजासहित दरबार परिसर परिक्रमा गराइएको थियो । त्यसक्रममा नेपाली सेनाको टोलीले बन्दुक पड्काएर सलामी दिएको थियो भने स्थानीय तथा सर्वसाधारणले बाजागाजासहित फूलपातीको स्वागत गरेका थिए ।
परम्पराअनुसार गोरखा दरबारका सुसारेहरूले फूलपातीको डोली बोकेर सतिपिपलस्थित फूलपाती चौतारासम्म ल्याउने र त्यहाँबाट काठमाडौं पठाउने चलन छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि नै बर्सेनि दसैँको सातौँ दिन गोरखाबाट फूलपातीसहितको डोली हनुमानढोका पुर्याउने परम्परा चल्दै आएको मानिन्छ । यसले गोरखा र काठमाडौंका ऐतिहासिक दरबारबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिएको छ ।
फूलपातीका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूललगायत विभिन्न वनस्पति तथा नयाँ पालुवा दसैँघर वा पूजाकोठामा भित्र्याउने गरिन्छ । नवपत्रिका नामले समेत चिनिने यी सामग्रीलाई नौ देवीको प्रतीक मानेर शक्तिस्वरूपा दुर्गाको आराधनासहित पूजा गर्ने धार्मिक मान्यता छ । घटस्थापनादेखि वैदिक विधिअनुसार दुर्गाको आह्वान गरी पूजा गरिने दसैँघरमा फूलपाती भित्र्याउनुलाई शुभ र समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।
आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी जमरा राखेसँगै सुरु हुने दसैँ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व फूलपातीका दिन थप विशेष बन्ने गर्छ । यस दिनदेखि चाडपर्वको रौनक र सामाजिक चहलपहल पनि बढ्दै जाने परम्परा छ ।
हनुमानढोकाको दसैँघरमा भित्र्याइएको फूलपातीलाई विजयादशमीको बिहानसम्म पूजाअर्चनासहित राखिन्छ । दशमीका दिन दुर्गा भगवतीलाई फूलपाती चढाएपछि टीका ग्रहण गर्ने समयमा जमरासँगै सर्वसाधारणलाई वितरण गर्ने चलन रहेको छ । गोरखा दरबारमा पनि शनिबार साँझ हर्षबढाइँसहित फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ ।











