काठमाडौं । नवरात्रको सातौँ दिन आज फूलपाती मनाइँदै छ। दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दसैँघरमा फूलपाती भित्र्याउने परम्पराअनुसार आज अपराह्न फूलपाती भित्र्याइन्छ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्ने शक्तिकी प्रतीक कालरात्रिको आराधना गर्दा भय र सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ। विभिन्न पुराणमा देवीलाई कृष्ण वर्णकी र भयंकर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ।

ADVERTISEMENT

नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखेर नवदुर्गाको पूजा सुरु गरिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो। आज सातौँ दिन कालरात्रिको पूजा गरिँदै छ।

ADVERTISEMENT

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास गरिन्छ।

नवरात्रको आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर दसैँ मनाइन्छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने परम्परा छ।

ADVERTISEMENT

फूलपातीका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ।