काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली क्षेत्रका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति देशको हिमाली भूभागमा साधारणतया बादल र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आज आंशिक प्रभाव रहने सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।











