काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईले युरोपेली बजारमा आफ्नो नयाँ एसयूभी बायोन सार्वजनिक गरेको छ। कम्पनीले बायोनको नियमित संस्करणसँगै स्पोर्टी डिजाइनमा आधारित एन लाइन संस्करण पनि सार्वजनिक गरेको हो। भारतीय बजारमा बिक्री सुरु भएपछि यो एसयूभी नेपालमा समेत आउने अपेक्षा गरिएको छ।

नयाँ बायोनको एन लाइन संस्करणमा फरक डिजाइनका बाहिरी संरचना, विशेष सजावटी सामग्री र १८ इन्चका एलोय ह्वील उपलब्ध छन्। नियमित संस्करणमा भने १६ र १७ इन्चका ह्वील दिइएको छ।

ADVERTISEMENT

पेट्रोल र हाइब्रिड इन्जिन विकल्प

युरोपेली बजारमा नयाँ हुन्डाई बायोन सुरुमा १.० लिटर टी–जीडीआई टर्बो पेट्रोल इन्जिनका दुई विकल्पमा उपलब्ध हुनेछ। यी इन्जिनले क्रमशः ८९ र ११३ हर्सपावर शक्ति उत्पादन गर्छन्। दुवै विकल्पमा ६ स्पिड म्यानुअल वा ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स छनोट गर्न सकिनेछ।

ADVERTISEMENT

कम्पनीले सन् २०२७ मा १.६ लिटर हाइब्रिड इन्जिन विकल्पसमेत थप्ने योजना बनाएको छ। हाइब्रिड संस्करणमा पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयुक्त अधिकतम शक्ति १३६ हर्सपावर हुनेछ। यसमा ६ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स रहनेछ।

पेट्रोल संस्करणको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टासम्म हुनेछ। इन्जिन र भेरियन्टअनुसार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन १०.८ देखि १४.१ सेकेन्डसम्म लाग्ने कम्पनीको विवरणमा उल्लेख छ।

ADVERTISEMENT

हुन्डाईले नयाँ बायोन टर्कीस्थित आफ्नो उत्पादन कारखानामा निर्माण गर्नेछ।

कस्तो छ नयाँ बायोनको डिजाइन?

नयाँ हुन्डाई बायोनको लम्बाइ ४ हजार २४५ मिलिमिटर, चौडाइ १ हजार ८१० मिलिमिटर र उचाइ १ हजार ५६५ देखि १ हजार ५७० मिलिमिटरसम्म छ। यसको ह्वीलबेस २ हजार ६०० मिलिमिटर रहेको छ।

पेट्रोल संस्करणमा ४४० लिटर र हाइब्रिड संस्करणमा ३९७ लिटर क्षमताको बुट स्पेस उपलब्ध हुनेछ। पछाडिका यात्रुका लागि ढल्काउन मिल्ने सिट, आर्मरेस्ट र छुट्टै एसी भेन्ट राखिएको छ। अगाडिका सिटमा हिटिङ तथा भेन्टिलेसन र पछाडिका सिटमा हिटिङ सुविधा उपलब्ध हुने बताइएको छ।

प्रविधि र सुविधामा पनि जोड

नयाँ बायोनको क्याबिनमा १२.३ इन्चका दुईवटा डिस्प्ले राखिएका छन्। यसमा हुन्डाई डिजिटल की २, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, वायरलेस मोबाइल चार्जिङ र आठवटा स्पिकरसहितको बोस साउन्ड सिस्टम उपलब्ध हुनेछ।

त्यसैगरी, दुई क्षेत्रको तापक्रम छुट्टाछुट्टै नियन्त्रण गर्न सकिने वातानुकूलन प्रणाली र खोल्न मिल्ने प्यानोरामिक सनरुफसमेत दिइएको छ। डिजिटल की २ प्रविधिबाट स्मार्टफोन वा स्मार्टवाचको सहायताले गाडीको ढोका खोल्न तथा स्टार्ट गर्न सकिनेछ।

सुरक्षाका लागि बायोनमा हुन्डाईको स्मार्टसेन्स प्रणाली समावेश गरिएको छ। यसमा हाइवे ड्राइभिङ असिस्ट २, फर्वार्ड कोलिजन एभोइडेन्स असिस्ट २ र लेन फलोइङ असिस्ट २ जस्ता चालक सहायता प्रविधि उपलब्ध हुनेछन्।

भारतमा १.५ लिटर इन्जिन, नेपालमा पनि आउने अपेक्षा

युरोपेली बजारको तुलनामा भारतीय बजारमा हुन्डाई बायोन ठूलो इन्जिन क्षमतासहित उपलब्ध हुने जनाइएको छ। भारतीय संस्करणमा १.५ लिटर एमपीआई पेट्रोल इन्जिन रहनेछ, जसले ११३ हर्सपावर शक्ति र १४४ न्युटन मिटर टर्क उत्पादन गर्नेछ।

भारतीय संस्करणमा ६ स्पिड म्यानुअल र इन्टेलिजेन्ट भेरिएबल ट्रान्समिसन (आईभीटी) अटोमेटिक गियरबक्सका विकल्प रहनेछन्। भारतीय बजारमा बायोन अक्टोबर २६ मा सार्वजनिक गर्ने तयारी गरिएको छ भने कम्पनीले बुकिङसमेत खुला गरिसकेको छ।

भारतीय बजारमा बिक्री सुरु भएपछि हुन्डाई बायोन नेपालमा समेत आउने अपेक्षा गरिएको छ। यद्यपि, नेपालमा यसको सार्वजनिक मिति, मूल्य र उपलब्ध हुने भेरियन्टबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।