काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाको १५० सीसी क्षमताको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ को बिक्री सुरु गरेको हो।
कम्पनीका अनुसार नयाँ स्कुटरको सुरुआती मूल्य ४ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ। नयाँ मोडलले भेस्पाको ऐतिहासिक विरासत, मौलिक इटालियन डिजाइन र थप शक्तिशाली राइडिङ अनुभवलाई एकैसाथ प्रस्तुत गर्ने कम्पनीको दाबी छ।
विशिष्ट डिजाइन, आकर्षक बनावट र फरक पहिचानका कारण विश्वभर परिचित भेस्पाले नयाँ मोडलमार्फत नेपाली बजारमा १५० सीसी क्षमताको अर्को विकल्प थपेको छ। मौलिक इटालियन शैलीलाई कायम राख्दै ल्याइएको यो स्कुटरले स्टाइलसँगै दैनिक यात्रामा थप पावर खोज्ने ग्राहकलाई लक्षित गरेको छ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नयाँ स्कुटर सार्वजनिक हुनु कम्पनी र नेपाली भेस्पा ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार नयाँ भेस्पा १५० मा इटालियन डिजाइनसँगै आधुनिक प्रविधि र कार्यक्षमतामा जोड दिइएको छ। नेपालको भौगोलिक बनावट र सहरी यात्रालाई ध्यानमा राखेर ल्याइएको यस मोडलले ग्राहकलाई स्टाइल, आराम र पावरको अनुभव प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।
‘भेस्पाको समृद्ध ऐतिहासिक विरासत र विशिष्ट पहिचानले पुस्तौँदेखि राइडरहरूलाई आकर्षित गर्दै आएको छ। नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बीमार्फत हामी नेपाली ग्राहकलाई भेस्पाको कालजयी स्टाइल र मौलिक पहिचानमा कुनै सम्झौता नगरी थप शक्तिशाली विकल्प उपलब्ध गराउन पाउँदा खुसी छौँ,’ महतोले भने।
उनले देशभर विस्तार हुँदै गएको आधिकारिक बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई गुणस्तरीय सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
डेल्टा अटोकर्पले नेपालमा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै भेस्पाका विभिन्न मोडल ग्राहकसमक्ष उपलब्ध गराउँदै आएको छ। नयाँ मोडलको आगमनसँगै नेपाली बजारमा भेस्पाका स्कुटरका विकल्प थप फराकिलो भएका छन्।









