काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आउँदा विभिन्न स्थानका पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ भने घटनामा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुमलिङबीच ठूलो पहिरो गएर बुढीगण्डकी नदी थुनिएको थियो। त्यसपछि लेदोसहितको ठूलो बाढी आएको हो।
आइतबार दिउँसो १ बजेसम्मको विवरणअनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका ४७ जनालाई सुरक्षित स्थानमा राखिएको छ। उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएको छ।
पुल र घर बगायो, बस्ती जोखिममा
बाढीले गोरखाका विभिन्न स्थानमा पुल तथा घरमा क्षति पुर्याएको छ।
चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दीबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउससँगै वरपरका सातदेखि आठवटा घर बगाएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ घर जोखिममा रहेको प्रारम्भिक विवरण छ।
जलविद्युत् आयोजनामा पनि ठूलो क्षति
बाढीले विभिन्न क्षमताका जलविद्युत् आयोजनाका संरचना, निर्माण उपकरण र पहुँचमार्गमा क्षति पुर्याएको छ।
प्राधिकरणका अनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरण बगाएको छ।
त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बगाएको छ।
३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बगाएको छ। १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा पनि क्षति पुगेको प्रारम्भिक विवरण छ।
सल्लेरीस्थित टाइम्स ऊर्जा जलविद्युत् आयोजनाका १२ जना कर्मचारीलाई भने सुरक्षित स्थानमा सारिएको छ। आयोजनाको भौतिक संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
धादिङका करिब १०० घरमा लेदो पस्दा जोखिम
बुढीगण्डकीमा आएको बाढीको प्रभाव धादिङमा समेत परेको छ। त्रिपुरासुन्दरी गाउँपालिका–१ विशालनगरका करिब १०० घरधुरीमा लेदो पसेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, नदी तटीय क्षेत्रमा रहेको नरसिंह धाम मन्दिर र गुरुकुल शिक्षालयसमेत जोखिममा रहेका छन्।
३८७ सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ३८७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बल नेपालका १७७ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।
बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जनाको प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको थियो। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग र जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। गोरखा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रमा समेत सूचना सम्प्रेषण गरिएको थियो।
बाढीको कारण अध्ययन गर्न प्राविधिक टोली परिचालन
बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन र क्षतिको अवस्था अध्ययन गर्न प्राधिकरण तथा सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
आरुघाटस्थित पुल बगाएपछि त्यहाँ तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा समेत अध्ययन भइरहेको छ।
प्राधिकरणले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायम रहन सक्ने भएकाले जोखिमयुक्त पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।







