काठमाडौं । जेएसडब्ल्यू एमजीको नयाँ ७ सिटर विद्युतीय एसयूभी हेक्टर टमहक ईभी नेपालमा लन्च भएको छ। नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी यो एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीले हेक्टर टमहक ईभीको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। पहिलो ५० जना ग्राहकले भने यसलाई ५७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

भारतमा उत्पादन गरिएको यस एसयूभीमा ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र १५० किलोवाट क्षमताको मोटर छ। यसले ३१० एनएम टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा लिन सक्छ।
कम्पनीका अनुसार एकपटक फुल चार्ज गर्दा यसले ५०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। ९० किलोवाटको डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब ३५ मिनेट लाग्छ।
यसमा भेहिकल–टु–लोड (V2L) र भेहिकल–टु–होम (V2H) प्रविधि पनि दिइएको छ। यी सुविधामार्फत गाडीको ब्याट्रीबाट विद्युतीय उपकरण चलाउन वा घरमा बिजुली आपूर्ति गर्न सकिन्छ।
डिजाइन र सुविधामा के छ?
हेक्टर टमहक ईभीको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ। यसको लम्बाइ ४,७४५ एमएम, चौडाइ १,८५० एमएम, उचाइ १,७७० एमएम र ह्वीलबेस २,८१० एमएम रहेको छ।
बाहिरी डिजाइनमा इलुमिनेटेड एमजी लोगो, एलईडी हेडलाइट, १८ इन्चका डुअल–टोन एलोय ह्विल र बक्सी डिजाइन दिइएको छ।
इन्टेरियरमा भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, १० स्पिकरको इन्फिनिटी साउन्ड सिस्टम र २५६ रङको एम्बियन्ट लाइटिङ उपलब्ध छन्। यसमा नेप, क्याम्प र प्राइभेट मोडसहित ६ वटा क्याबिन मुड पनि राखिएका छन्।
सुरक्षामा लेभल २ एडीएएस
सुरक्षाका लागि एसयूभीमा ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा छन्। यसबाहेक अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोलजस्ता सुविधासहित लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) दिइएको छ।
७ सिटर क्षमता, ५०० किलोमिटरभन्दा बढी रेन्जको कम्पनी दाबी र आधुनिक सुरक्षा सुविधासहित हेक्टर टमहक ईभी नेपाली विद्युतीय एसयूभी बजारमा आएको छ।







