काठमाडौं । घरजग्गा धितो नभएकै कारण लगानीबाट वञ्चित भइरहेका महिला उद्यमीलाई लक्षित गर्दै १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरिएको छ। आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले महिला नेतृत्वका उद्यमलाई पूँजी, कर्जा र बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले शुक्रबार यो पहल औपचारिक रूपमा सार्वजनिक गरेको हो।
ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा संयुक्त दिगो विकास लक्ष्य कोष (ज्वाइन्ट एसडीजी फन्ड), खाद्य तथा कृषि सङ्गठन (एफएओ) र ह्यान्ड-इन-ह्यान्ड इनिसिएटिभसँगको सहकार्यमा कार्यक्रम सुरु गरिएको हो। ‘महिलाका लागि, महिलाद्वारा’ अवधारणामा आधारित यस पहलले व्यवसायको सम्भावना, आम्दानी र सञ्चालन क्षमतालाई लगानीको आधार बनाउने लक्ष्य राखेको छ।

यसअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत निजी इक्विटी फन्ड ‘सिम्रिक फन्ड’ मार्फत सम्भावनायुक्त महिला उद्यममा लगानी गरिनेछ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी फन्डको मुख्य लगानीकर्ता रहेको छ।
धितो नभएकै कारण लगानीबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य
कार्यक्रममा आध्यन्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले परम्परागत वित्तीय प्रणालीले घरजग्गालाई प्राथमिकता दिँदा सञ्चालनमा रहेका व्यवसायको सम्भावना र मूल्याङ्कन ओझेलमा पर्ने गरेको बताए।
उनका अनुसार नेपालमा गैरकृषि साना उद्यममध्ये करिब ५० प्रतिशत महिलाले सञ्चालन गर्छन्। तर, तीन चौथाइ परिवारमा महिलाको नाममा घर वा जग्गा छैन।
पौडेलले बैंकबाट कर्जा पाउन नसक्नु र व्यवसाय लगानीयोग्य नहुनु फरक विषय भएको उल्लेख गर्दै कतिपय उद्यमलाई धितोमा आधारित कर्जाभन्दा जोखिम बाँडफाँट गर्ने प्रकृतिको पूँजी आवश्यक पर्ने बताए।
उनका अनुसार सिम्रिक इनिसिएटिभले उद्यमको वास्तविक अवस्था बुझ्ने, जोखिम बाँड्ने र लगानी गर्ने तीन आधारमा काम गर्नेछ। विगत पाँच वर्षमा करिब २० संस्थागत लगानीकर्ताको सहकार्यमा २० भन्दा बढी उद्यममा ४०० करोड रुपैयाँभन्दा बढी पूँजी परिचालन गरेको अनुभवलाई पनि यस पहलको आधार बनाइएको उनले बताए।

तीन क्षेत्रमा सहयोग
सिम्रिक इनिसिएटिभले महिला उद्यमीलाई तीन मुख्य क्षेत्रमा सहयोग गर्नेछ।
- पूँजीमा पहुँच: सिम्रिक फन्डमार्फत धैर्यशील पूँजी, संस्थागत सुशासन र रणनीतिक सहयोग उपलब्ध गराइनेछ।
- कर्जा तथा ग्यारेन्टी: बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी अचल सम्पत्तिको धितोमा मात्र निर्भर नभई व्यवसायको नगद प्रवाह र सञ्चालन क्षमताका आधारमा कर्जा उपलब्ध गराउने प्रयास गरिनेछ।
- व्यावसायिक क्षमता र बजार विस्तार: वित्तीय योजना, ब्रान्डिङ, व्यवसाय व्यवस्थापन र लगानीका लागि उद्यमलाई तयार पार्न सहयोग गरिनेछ।
यसैक्रममा आध्यन्त फन्ड म्यानेजमेन्ट र ग्लोबल आईएमई बैंकबीच सिम्रिक इनिसिएटिभको बैंकिङ साझेदारका रूपमा काम गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
त्यस्तै, एफएओ नेपाल र संयुक्त दिगो विकास लक्ष्य कोषसँगको सहकार्यमा कृषि तथा खाद्य मूल्य शृङ्खलामा आबद्ध २० वटा महिला नेतृत्वका उद्यमलाई वित्तीय योजना निर्माण, ब्रान्डिङ र लगानीका लागि तयार पार्न सहयोग भइरहेको छ।
उत्पादनशील अर्थतन्त्र निर्माणमा महिला उद्यमशीलता महत्त्वपूर्ण
कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महिला उद्यमशीलताको प्रवर्द्धन उत्पादनशील अर्थतन्त्र निर्माणसँग जोडिएको विषय भएको बताइन्।
उनले धितो अभावकै कारण सम्भावनायुक्त व्यावसायिक विचार रोकिने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिइन्। महिलालाई उद्यम सञ्चालनमा सहयोग गर्नुका साथै व्यवसाय र सम्पत्तिको मालिक बन्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।
मन्त्री गौतमले रेमिट्यान्समा निर्भरता घटाउन स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताइन्। घरजग्गामा मात्र पूँजी केन्द्रित गर्ने प्रवृत्तिभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिइन्।
कार्यक्रममा एफएओ नेपालका कार्यवाहक प्रतिनिधि अरुण जीसीले महिला नेतृत्वका कृषि उद्यमलाई आधुनिक बजार र पूँजीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। सिम्रिक फन्डकी मुख्य लगानीकर्ता नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले महिला उद्यमशीलतामा संस्थागत लगानीले आर्थिक प्रतिफलसँगै सामाजिक रूपान्तरणमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
१ अर्ब रुपैयाँको लक्ष्यसहित सुरु गरिएको सिम्रिक इनिसिएटिभले महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा यसको कार्यान्वयनमा निर्भर हुनेछ। विशेषगरी धितो नभएका तर व्यावसायिक सम्भावना भएका उद्यमले कति सहज रूपमा लगानी पाउँछन् भन्ने कुराले यस पहलको सफलता निर्धारण गर्नेछ।







