काठमाडौं । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा थियो।
भूकम्पपछि शक्तिशाली परकम्पसमेत गएको थियो। दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो। भूगर्भविद्हरूले परकम्पलाई तत्कालको प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा एल सिटियो होटल भत्किएको छ। होटल भत्किए पनि त्यहाँ मानवीय क्षति नभएको बताइएको छ। आसपासका घरमा चिरा परेको, पुलमा क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको विवरण सार्वजनिक भएको छ।
पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ। सरकारी भवन, चर्चका अग्ला संरचना, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको छ। घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ। तर, क्षतिको यकिन विवरण सार्वजनिक भइसकेको छैन।
अधिकारीहरूका अनुसार पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् भने अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ। पेनोनोमेमा रहेको डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको दृश्यसमेत सार्वजनिक भएको छ। कोक्ले प्रान्तको गभर्नर कार्यालय र एउटा क्याथेड्रलमा पनि क्षति पुगेको छ।
राजधानी पानामा सिटीमा भवनहरू हल्लिएपछि मानिसहरू सडकमा निस्किएका थिए। अग्ला भवनका छतमा रहेका पौडी पोखरीबाट पानी सडकमा खसेको दृश्यसमेत सार्वजनिक भएको छ। यद्यपि, राजधानीको मुख्य सहरी क्षेत्रमा ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन्।
भूकम्पपछि देशको प्रमुख टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको थियो। यात्रुहरूलाई बाहिर निकालेर सुरक्षासम्बन्धी निरीक्षण गरिएपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ।
अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण पानामा नहर भने भूकम्पपछि पनि नियमित रूपमा सञ्चालनमा रहेको नहर प्राधिकरणले जनाएको छ। पानामास्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारी घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको बताएको छ।
यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले भूकम्प ठूलो सुनामी उत्पन्न गराउन सक्ने सबडक्शन क्षेत्रमा नभई जमिनमुनि कम गहिराइमा र मुख्यतः तेर्सो चालका कारण गएको देखाउँछ। भूकम्प उथलो भएकाले केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ।







