नयाँदिल्ली । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले प्रदर्शन आह्वान गरेपछि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
शनिबार जन्तरमन्तरमा हुने भनिएको प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका क्षेत्रमा निगरानी बढाइएको छ भने ठाउँठाउँमा अवरोधक राखेर सवारीसाधन तथा यात्रुको जाँच भइरहेको छ।
भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार प्रदर्शनका कारण दिल्लीका ४५ मेट्रो स्टेसन बन्द गरिएका छन्। दिल्ली आउने केही रेल रद्द गरिएका छन् भने केहीको मार्ग परिवर्तन गरिएको छ। प्रदर्शन प्रभावित क्षेत्रवरपर इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको समाचारमा उल्लेख छ।
ठूलो संख्यामा प्रदर्शनकारी सहभागी हुन सक्ने अनुमान गर्दै प्रहरीले यातायात व्यवस्थापनमा समेत कडाइ गरेको छ। प्रभावित क्षेत्रमा दिल्ली परिवहन निगमका बसको सञ्चालन नियन्त्रण गर्न र आवश्यकताअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिइएको छ।
दिल्ली प्रहरीकी उत्तरी जिल्ला उपआयुक्त निहारिका भट्टका अनुसार जिल्लाका प्रवेश तथा निकास बिन्दुमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू रहेको र प्रदर्शनका लागि अनुमति नदिइएको अवस्थामा शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिएको प्रहरीले जनाएको छ।
प्रहरीले असामाजिक तत्त्वलाई दिल्ली प्रवेश गर्नबाट रोक्ने र दैनिक जनजीवन सामान्य राख्ने प्रयास भइरहेको जनाएको छ। दिल्ली विश्वविद्यालयका कक्षा भने नियमित सञ्चालन हुने बताइएको छ।
यसैबीच, दिल्लीको हर्ष विहारस्थित एक मस्जिदका मौलानाले सर्वसाधारणलाई प्रदर्शनमा सहभागी नहुन र प्रशासनको निर्देशन पालना गर्न अपिल गरेका छन्।
मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर भारतमा विवाद जारी रहेका बेला सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन आह्वान गरेको हो।







