म्याग्दी । बाढीपहिरोले क्षतिग्रस्त बनाएको बेनी–जोमसोम–कोरला सडकको मर्मत अन्तिम चरणमा पुगेको छ। तर सडक पूर्ण रूपमा सुरक्षित भइनसकेकाले नियमित यातायात सञ्चालनमा चुनौती देखिएको छ। सडक योजना कार्यालयले आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने तयारी गरेको छ।

असोज ८ देखि ११ गतेसम्म परेको वर्षासँगै आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो सडकमा ठूलो क्षति पुर्‍याएको थियो। सडकका ५० भन्दा बढी स्थानमा पहिरो खसेको, सडक भासिएको र १० स्थानमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो।

ADVERTISEMENT

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सडक पुलको पहुँचमार्ग निर्माण भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन्।

ADVERTISEMENT

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार हाल अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गर्न सकिने अवस्था छ। सडकको पूर्ण मर्मत, भासिएका स्थानमा माटो भर्ने, सतह मिलाउने र पहिरो पन्छाउने काम भने बाँकी छ।

‘अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ,’ शर्माले भने।

ADVERTISEMENT

९० करोडको क्षति, पुनर्निर्माण गर्न थप ३ अर्ब आवश्यक

संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। सडकलाई नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप ३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको सुवेदीले बताए। उनका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपटकको बाढीले पुर्‍याएको हो।

अत्यधिक वर्षा, कमजोर भूगोल, नयाँ पहिरो, सहायक नदीमा बढेको बाढी र नदी किनारमा थुप्रिएको निर्माणजन्य सामग्रीले कालीगण्डकीमा बाढीको प्रभाव बढाएको उनको भनाइ छ।

५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्न पाएनन्

सडक अवरुद्ध हुँदा कोरलानाकाबाट दसैंलाई लक्षित गरी आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर म्याग्दी र मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्। सडक सञ्चालनमा आएपछि यी कन्टेनरलाई गन्तव्यसम्म पुर्‍याउने चुनौती छ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, स्थानीय यातायात र पर्यटकका सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने तयारी भइरहेको छ।

सवारीसाधनको जाम रोक्न साँघुरा तथा जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने विषयमा पनि छलफल भएको उनले बताए।

सडक सहज नहुँदासम्म घुमघामका लागि आउने पर्यटकलाई आफ्नो यात्रा केही दिन पछाडि सार्नसमेत गैरेले अनुरोध गरेका छन्। कोरलानाकाबाट हुने व्यापार, मुस्ताङको स्याउ तथा आलु निकासी र दसैंतिहारमा बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्न म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिले संयुक्त रूपमा कार्ययोजना बनाउने तयारी गरेका छन्।