काठमाडौं । असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘छ माया छपक्कै २’ मा समावेश गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक गीतमा सबिन सुवेदी र साहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ। गीतमा उदयराज पौडेललको म्युजिक एरेन्ज छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार दीपकराज गिरीसहित केकी अधिकारी र सनिषा भट्टराईलाई देख्न सकिन्छ। गीतको भिडियोमा श्रीमान श्रीमतीको भूमिकामा रहेका दिपक र केकीको प्रेमिल दृश्यहरुको बीचमा सनिशाको प्रवेशले थप रोचकता थपेको छ।
दीपकले दुबैसँग ठिक्क परेको देख्दा फिल्मले त्रिकोणात्मक प्रेमकथातर्फ संकेत गर्छ। किरण थापाले भिडिओको कोरियोग्राफी गरेका छन् ।
यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला हो। दीपेन्द्र लामाको निर्देशन रहेको यस फिल्मले सामाजिक-राजनीतिक कथावस्तुलाई समेटेको छ।
फिल्मको पटकथा दीपेन्द्रसहित दीपकराजले लेखेका हुन्। फिल्ममा दीपाश्री निरौला र निर्मल शर्मा लगायतको अभिनय रहनेछ।
रोहित अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी हुन्।







