काठमाडौँ । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरेको छ।
बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि सर्वसम्मत रूपमा पारित गर्दै सबै सदस्यले त्यसमा हस्ताक्षर गरेका हुन्।उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमित समयभित्र प्राप्त कागजातहरूको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु मुख्य चुनौती रहेको बताए।
उनका अनुसार उपसमितिको पहिलो बैठक बुधबार बसेको हो। अब आगामी बैठक दसैँपछि मात्रै बस्नेछ। विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि बैठकले तय गरेको छ।
प्राप्त दस्ताबेजहरूको गोपनीयता कायम राख्न लेखा समितिकै सभाहलमा आवश्यक निगरानीका बीच अध्ययन गरिने भएको छ। कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ।
सभापति झाले भने, ‘बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरेको छ। आगामी बैठक दसैँपछि बस्ने निर्णय भएको छ। उपसमितिको कार्यअवधि दुई महिना अर्थात् मङ्सिर २० गतेसम्म रहेको छ।’
उनका अनुसार प्राप्त दस्ताबेजहरूको गोपनीयता कायम राख्दै लेखा समितिकै सभाहलमा निगरानीका बीच अध्ययन गरिनेछ। कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइनेछैन।
‘अब मुख्य चुनौती चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हो,’ झाले भने। उपसमितिलाई प्राप्त कागजात तथा तथ्यहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन मङ्सिर २० गतेसम्म दुई महिनाको समयसीमा तोकिएको छ।







