काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले नेपाल–चीन व्यापार सहजीकरण लागि उत्तरका थप नाका खोल्न माग गरेको छ ।
बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले छिमेकी मुलुक चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न संघले माग गरेको हो ।
गत २४ असारमा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामानको आवागमन ठप्प भएको छ ।
बाढीपहिरोकै कारण सिन्धुपाल्चोकको तातोपानी नाका पनि दुई सातादेखि अवरुद्ध छ । प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौं कन्टेनर र ट्रकहरु बीच बाटोमै अलपत्र परेका छन् ।
चीनसँगको आयात–निर्यात सहज बनाउन अन्य नाकाहरु खोल्नु जरुरी रहेकोले कूटनीतिक पहलमार्फत ती नाकाहरु अविलम्ब सञ्चालनमा ल्याउन र अन्य वैकल्पिक नाकाहरुमा पूर्वाधारको व्यवस्था गर्न संघले सरकारलाई आग्रह गरेको छ ।
व्यवस्थापिका संसदको विकास समितिले २०७२ सालमै उत्तरी नाकाहरुको अवस्था अध्ययन गरी कोरला र ओलाङ्चुङगोला नाका सञ्चालनमा ल्याउन सकिने सुझाव दिएको थियो । नेपाल र चीन सरकारका उच्च अधिकारीहरु एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए ।
ती नाकाहरुमा तातोपानी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङचुङगोला, मुगुको आम्जापास, हुम्लाको यारी हिल्सा र गोरखाको लार्के थिए । तर हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् ।
कोरला नाका १२ महिना नै सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङको ओलाङ्चुङगोला नाकाबाट पनि दुई मुलुकबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१\८२ मा तातोपानीबाट ५० अर्ब रुपियाँभन्दा बढीको र रसुवागढी नाकाबाट ८५ अर्ब रुपियाँभन्दा बढीको सामान आयात भएको छ ।






