काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन्।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले नेपाली पक्ष नाका सञ्चालनका लागि तयार रहेको तर चिनियाँ पक्षबाट अनुमति आउन बाँकी रहेको जानकारी दिएका हुन्।
मन्त्री लम्सालका अनुसार विपद्का कारण नाका सञ्चालनमा समस्या आएपछि सरकारले तत्काल सडक तथा अन्य पूर्वाधार पुनःस्थापनाको काम गरिरहेको छ। तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्षले आवश्यक बाटो तयार गरिसकेको उनले बताए।
‘तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ। अहिले पनि हामी तयार छौं। हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन,’ उनले भने।
चीनसँग नाका सञ्चालनबारे नियमित रूपमा संवाद भइरहेको उनले बताए। उनका अनुसार चिनियाँ पक्ष भने बाढी तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै नाका सञ्चालनका लागि अझै पूर्ण रूपमा तयार भइसकेको छैन।
‘चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ। दैनिकजसो नै संवाद भइरहेको छ,’ मन्त्री लम्सालले भने, ‘विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन। हामी प्रयास गरिरहेका छौं।’
मन्त्री लम्सालले रसुवागढी नाका पुनः सञ्चालनका लागि पनि सरकारले काम गरिरहेको बताए। चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले रसुवागढी नाका पुनः सञ्चालन गर्न सरकारले आवश्यक योजना बनाइरहेको उनको भनाइ छ।
उनले विपद्पछि अवरुद्ध भएका सडक तथा पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने काम भइरहेको पनि जानकारी दिए।







